☰ open Loading... 25 November 2024|  

कांग्रेसमा तीनवटै प्रतिवेदन पारित
पश्चिम नेपाल   | ५ फाल्गुन २०८०, शनिबार ०५:२०

नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ ।

शुक्रबार बसेको कार्यसमिति बैठकले सह-महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।

बैठकले महासमितिमा पेश गर्ने तीनवटै प्रतिवेदन उपर प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित पेश गर्ने गरी पास गरेको छ ।

साथै महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ ।

संसदीय दलको कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य गरी ३१ जना रहने छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतक र सचेतक मनोनयन गरे पनि उपनेता चयन गरेका छैनन् । प्रमुख सचेतकको जिम्मेवारी सांसद रमेश लेखक र सचेतकमा सुशीला थिङ छिन् ।

कार्यसमितिमा सात वटा प्रदेशबाट सात जना निर्वाचित हुने व्यवस्था छ । सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट एक जना निर्वाचित हुने व्यवस्था छ ।

कार्यसमितिमा कम्तीमा पाँच जना महिला अनिवार्य हुने गरी क्लस्टर अनुसार जम्मा ११ जना चयन हुने व्यवस्था छ । यस्तै संसदीय दलका नेताले पाँच सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

कार्यसमितिमा मुख्य सचेतक, सचेतक, सरकारमा रहेको अवस्थामा पार्टीको सदस्य भए संसदीय मामिला हेर्न मन्त्री र पार्टीका महामन्त्री पदेन सदस्य हुन्छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पदेन सदस्य रहने छन् ।