☰ open Loading... 25 November 2024|  

सिडियोले चलाए विकासका लागि सम्वाद
पश्चिम नेपाल   | ५ फाल्गुन २०८०, शनिबार १९:३१

प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अग्रसरतामा जिल्लामै पहिलो पटक विकासका लागि संवाद कार्यक्रम गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुषालले जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा जिल्लामा काम गर्ने तिन वटै तहका कार्यालयविच विकासको विषयमा संवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विकाससंग सम्वन्धी कार्यालयका प्रमुखहरुदेखि जनप्रतिनिधिहरु, जिल्लाका सवै दलका नेताहरु सहभागी भएर भईरहेको विकास र हुनुपर्ने विकास योजना बारेमा संवाद भएको थियो । कार्यक्रममा दैलेखमा काम गरिरहेका कार्यालयहरुले आफ्नो कामको प्रगती प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका सबै एफएम रेडियोले प्रत्यक्ष प्रशारण गरेका र सबै नागरिकले प्रत्यक्ष प्रश्न गर्न सक्ने ब्यवस्था मिलाइएसंगै आम नागरिकहरुले विकास संम्वाद सुनेका थिए ।

जनप्रतिनिधि, स्थानीयहरुले विकासमा भईरहेको ढिलासुस्ती, अनियमितता, गुणस्तरिय विकास लगायतका कुराहरुमा आफ्नो धारणा राखे । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जिल्लामा पहिलो पटक विकासका लागि संवाद कार्यक्रम गरेको भन्दै सहभागी प्रदेश, संघका सांसद र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले प्रंशसा समेत गरेका थिए । प्रमुख जिल्ला अधिकारी भुषाल जिल्लामा आएयता पेट्रोलियम अन्बेषण, मध्य पहाडी राजमार्ग लगायतका विकास निर्माणका कामले गति लिईरहेको बेला संम्वाद कार्यक्रमले सवैमा उर्जा दिएको छ ।

विकाससंग सम्वन्धी सवै पक्षहरुलाई एकै ठाउँमा राखेर गरिएको संवादले कहाँ कसरी काम भईरहेको स्पष्ट रुपमा सार्वजनिककरण भएको थियो । सार्वजनिकरणसंगै देखिएका चुनौतीहरु समाधानका लागि जनप्रतिनिधिहरु, दलका नेताहरुले विकासका लागि एकताको १५ बुंदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छन् । तिन वटा तहको विकासमा समन्वय नभएको गुनासो आएको बेला दैलेखमा तिन वटै तहका विकासे कार्यालयहरु एकै ठाउँमा बसेर छलफल समेत चलाईएको र आगामी दिनमा समन्वय हुने गरी संवाद भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए । ‘उत्साहपूर्ण विकाससंग सम्वन्धीत पक्षहरुविच संवाद भयो । प्रमुख जिल्ला अधिकारी भुषालले भने, जिल्लाको समग्र विकासका लागि १५ बुंदे प्रतिवद्धता भएको छ । त्यही प्रतिवद्धताको आधारमा विकास गतिविधिहरु हुनेछन् ।’

५० भन्दा बढी सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुतीकरण गरेका थिए । प्राय कार्यालयहरुले बहुबर्षिय योजनाहरुमा बजेट कम हुँदा काम गर्न कठिनाई भएको दखेसो सुनाए । काम सुरु गर्न नपाउँदै अख्तियारमा दुःख दिने नियतले मुद्दाहरु पर्न थालेपछि काम गर्न गाह्रो हुने गरेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रभाकर प्रसाद सिहंले बताए । कार्यक्रममा प्रतिनिधि सभा सांसद अमरबहादुर थापा, कर्णाली प्रदेशका पर्यटन मन्त्री कृष्णकुमार विसी, प्रतिनिधि सभाका उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति अब्दुल खांन, कर्णाली प्रदेश सभा सांसद घनश्याम भण्डारी, गोमता विक, प्रतिनिधि सभा पूर्व सांसद रविन्द्रराज शर्मा, लक्ष्मी पोखरेल, राजबहादुर बुढा लगायत पार्टीका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए ।

संवादमा सुर्खेत–दैलेख बजार –महावु –कालिकोट –जुम्ला हुँदै मुगु नाक्चे नाग्लाको त्रिदेशिय सडकको महावु खण्ड निर्माण कार्य अगाडी बढाउन, कर्णाली राजमार्गको स्तरउन्नती गर्न, पेट्रोलियम पदार्थको अन्वेषण कार्य अगाडी बढाउन, माथिल्लो कर्णाली आयोजना संचालन र मुआब्जा वितरणको लागि, पुष्पलाल (मध्यपहाडी) राजमार्ग सम्पन्न गर्न अवरोध भएको खण्ड तत्काल हटाउन, अलपत्र अवस्थामा रहेको नयाँ शहर आयोजनाको काम अघि बढाउनका लागि तत्काल सवैले पहल गर्ने प्रतिवद्धता समेत भएको छ ।

त्यस्तै जिल्लाको समग्र सार्वजनिक सेवा प्रवाह, विकास ब्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुले पारदर्शी जवाफदेही एवं उत्तरदायी ढंगबाट कार्य संचालन गर्ने र सुचनामैत्री सेवा प्रणालीमा सुधार, वित्तिय अनुशासन कायम गर्ने वित्तिय औजारहरुको प्रभावकारी कार्यान्वय गर्नुपर्ने प्रतिवद्धता समेत गरिएको छ ।

कार्यक्रममा संघ र प्रदेशका माननियहरु, पुर्वसांसदहरु, ११ वटै स्थानिय तहका प्रमुख उपप्रमुखहरु, कियाशिल राजनितिक दलका प्रमुखहरु, तिन वटै तहका कार्यालय प्रमुखहरु, आयोजना प्रमुखहरु, नागरिक अगुवाहरु, लगायत सबै पक्षको उपस्थिति रहेको थियो ।