काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिपक्षी तथा सत्तापक्षका सांसदबीच सवाल जवाफ भएको छ । संसद्को नियमित कार्यतालिकानुसार सांसदहरूले प्रश्न गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिएका छन् ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरूले ललितपुरको बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखिएको उल्लेख गर्दै उनलाई तत्कालै बर्खास्त गर्न माग गरे । उनीहरूले सरकारले नै बनाएको छानबिन समितिले दोषी देखाएका मन्त्रीलाई संरक्षण गरेर प्रधानमन्त्रीले कुन सुशासनको कुरा गरेको भनेर प्रश्न सोधेका छन् ।
सांसदहरूलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आइतबार नै आफूले प्रतिवेदन बुझ्ने बताए ।
१३ पुसमा बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवा र प्रहरीबीच झडप हुँदा दुई जना युवाको ज्यान गएको थियो । बालकुमारी घटना’bout जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले यातायातमन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
यसैगरी, बैठकमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रकरणमा बयान लिन बोलाएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र गौतमबुद्धको समाधीस्थलको जग्गा भाडामा दिने निर्णय गरेका पर्यटनमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेका छन् । एमालेका सचेतक महेस बर्तौलाले प्रधानमन्त्रीले सुशासनका नारा जप्दै हिँड्ने तर भ्रष्टाचारको आरोप लागेका मन्त्री राखेर बेइमानी गरेको आरोप लगाए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले आँट नगरेका भ्रष्टाचारका फाइल खोलेको दाबी गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान यही सरकारले नै थालेको र अदालतले फैसलासमेत गरिसकेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीविरुद्ध मुद्दा दायर भएको, ६० किलो सुन प्रकरणमा अपराधीहरू पक्राउ परिसकेको लगायतका उदाहरण दिँदै उनले आफूले प्रधानमन्त्रीको पद के हुन्छ भन्ने ध्यान नदिई सुशासनको पक्षमा काम गरेको दाबी गरे ।
आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई १३ सांसद्ले प्रश्न सोधेका छन् । प्रधानमन्त्रीलाई सांसदहरू कल्पना चौधरी, किरणकुमार शाह, डा. केआर राई, कृष्णगोपाल श्रेष्ठ, कान्तिका सेजुवाल, गोकर्ण विष्ट, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, कल्पना मिया कुसारी, गगनकुमार थापा, किशोरसिंह राठोर, गीता बस्नेत र गणेश पराजुलीले प्रश्न सोधेका थिए ।
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व संकलनको सन्दर्भमा प्रश्न उठाए । सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व संकलनको स्थितिमाथि गम्भीर ध्यानाकर्षण गराए ।
‘आर्थिक वर्षको ७ महिना बितिसक्दासमेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन, खर्च पनि ३५ प्रतिशत कट्नसकेको छैन, यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ ?’ थापाले प्रश्न गरे ।
प्रधानमन्त्रीलाई थप प्रश्न गर्दै सांसद थापाले भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्नेगरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ ? यदि छ भने के छ ? छैन भने किन छैन ?’
यसअघि पनि दुई–दुईपटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको उनले बताए ।