परम्परागत सिकाई प्रणालीले आजको शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने भन्दै सुर्खेत वीरेन्द्रनगरस्थित सिद्धपाईला ईङ्लिस सेकेण्डरी स्कुलले आफ्नो वार्षिकोत्सवमा शैक्षिक मेला गरेको छ । स्कुलले एक साता लामो ‘क्रियाकलापमा आधारित सिकाई’ (एबीएल) सम्बन्धी शैक्षिक मेलाको सञ्चालन गरेको थियो । स्कुलले परम्परागत सामग्रीहरुको आधुनिक प्रयोग, नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुको सिकाई क्रियाकलापको अभ्यास, खेल्दै रमाउँदै सिक्ने विधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक प्रयोगसहित कक्षा सञ्चालन गरेको हो । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखाका प्रमुख धिरेन्द्र प्रसाद शर्माले पहिलो खेलको माध्यमबाट सुरु गरिने पढाईको उद्घाटन गरेका थिए ।
नर्सरीदेखि कक्षा १० सम्मको प्रत्यक्ष स्टलमा बालबालिका, उनीहरुले प्रयोग गर्ने शैक्षिक सामग्री र सम्बन्धित अभिभावहरुलाई राखेर ‘क्रियाकलापमा आधारित सिकाई’को अवलोकन सरोकारवालाहरुलाई गर्न लगाइएको थियो । अवलोकनको क्रममा लोक सेवा आयोग कर्णाली प्रदेशका अध्यक्ष रामप्रसाद उपाध्यायले ‘क्रियाकलापमा आधारित सिकाई’ शैक्षिक सुधारको प्रभावकारी माध्यम भएको बताए ।
शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले क्रियाकलापमा आधारित सिकाईबाट शिक्षा र सिकाई सहजीकरणका क्षेत्रमा एउटा नवीन कार्य भएको प्रतिक्रिया दिए ।
क्रियाकलापमा आधारित सिकाईका सहजकर्ता तथा शैक्षिक अभियान्ता अर्जुन भट्टले बालबालिका अभिभावकको प्रतिबिम्ब भएको बताए । सिद्धपाईला ईङ्लिस सेकेण्डरी स्कुल सुर्खेतमा एक हप्तासम्म सिकाईको व्यवहारिक र उच्चतम् प्रयोगबारे सहजीकरण गरेका थिए ।
नेपाली भूमिका प्रयोग भएको एउटा मात्र विधि भनेकै क्रियाकलापमा आधारित सिकाई भएको दावी गर्दै नवीन सिकाईका लागि सिद्धपाईला स्कुल कर्णालीको पहिलो भएको प्रतिक्रिया दिए । उहाँले कोठाभित्रको अध्ययन अध्यापन भन्दा खुला वातावरणको सिकाई क्रियाकलाप बढी प्रभावकारी हुने तर्क गरेका थिए ।
सिद्धपाईला अंग्रेजी माध्यमिक विद्यालय सुर्खेतका प्राचार्य नैनसिंह खत्रीले क्रियाकलापमा आधारित सिकाई शैक्षिक विकास र प्रभावकारी शिक्षण विधिको मूल आधार भएको बताए । यो विधिले शिक्षक आफैलाई उर्जाशील र जिज्ञासु बन्न उत्प्रेरित गरेको बताउँदै प्राचार्य खत्रीले शिक्षकको मुख्य काम विद्यार्थीलाई संस्कार र सत्कर्म दिने हो बताए । उनका अनुसार उक्त विद्यालयमा एक हजार एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद तिवारीले क्रियाकलापमा आधारित सिकाईले विद्यालयको शिक्षण शैलीमा नै परिवर्तन आएको बताए ।