☰ open Loading... 7 September 2024|  

आउँदो वैशाखमा कर्णालीमा लगानी सम्मेलन हुने
पश्चिम नेपाल   | १६ फाल्गुन २०८०, बुधबार ०५:२२

सुर्खेत । कर्णाली प्रदेश लगानी सम्मेलन आगामी वैशाख १९ र २० गते हुने भएको छ । यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भनिए पनि तयारी अभावका कारण सम्मेलन ०८१ वैशाख १९ र २० गते तोकिएको प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले जानकारी दिए ।

शाहले वैशाखमा सर्नुको पछाडि संघीय सरकारको लगानी सम्मेलनलाई पनि हेरिएको बताए । ‘केन्द्र सरकारले पनि वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने मिती तय गरेको छ,’ शाहले अनलाइनखबरसंग भने, ‘हामीले त्यसैलाई पनि मध्यनजर गरेर मिती तय गरेका हौं ।’

प्रदेश सरकारले केन्द्रीय लगानी सम्मेलनका सहभागी सबैलाई कर्णालीमा पनि लगानी गर्न आमन्त्रण गर्ने निर्णय नै गरेको छ ।गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति नै गठन गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।
उनका अनुसार उक्त समितिमा मन्त्री, सचिवदेखि योजना आयोगका पदाधिकारी रहेका छन् ।