☰ open Loading... 20 September 2024|  

कर्णाली पुलमा आगोले क्षति, आवतजावत बन्द
पश्चिम नेपाल   | २८ फाल्गुन २०८०, सोमबार २२:५४

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भएको आगलागीले पुलमा क्षति पुर्‍याएको छ। जस कारण आवतजावत बन्द भएको छ।

गुडिरहेको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी हुँदा आगो पुलको लठ्ठामा सल्केको थियो। आगोले ट्रक पुरै जल्दा ट्रक तल रहेको पुलको भागमा समेत क्षति हुन पुगेको हाे।

वीरगन्जबाट कंचनपुर तर्फ आइरहेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार साढे ४ बजेतिर एक्कासि आगलागी भएको थियो। आगो दन्केर पुलमा लठ्ठामा सल्केको थियो।

आगो निभाउन नजिकका पालिकाहरुका दमकल गएका थिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि घटनास्थलमा आगो निभाउन पुगेका थिए। आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो। आगलागीले भएको क्षतिका कारण पुलमा आवतजावत बन्द भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्णाली पुलका लठ्ठामा पनि आगो सल्केर क्षति पुगेको बताए। आगलागीले पुलमा भएको यकिन क्षतिको विवरण आइनसकेको उनले जनाए। आगलागीले बन्द भएको पुल यथाशीघ्र खुलाउन प्रयास भइरहेको उनले सुनाए।

नेपालको सबैभन्दा लामो पुल मध्येको एक रहेको कर्णाली पुलले सुदूरपश्चिम प्रदेशलाई देशको अन्य भागसँग जोड्ने गर्दछ। २०५१ सालमा बनेको कर्णाली पुल तारे पुल हो। यसको बिचमा ठूलो खम्बा छ र यसमा स्टिलका तारहरू बाँधेर ट्रसलाई अड्याइयाको हुन्छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइकाे छ।

बिचको खम्बाको एक भाग तिर ३ सय २५ मिटर छ भने अर्को भाग तिर १ सय ७५ मिटर छ। यो पुलको निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोग गरिएको बताइएको छ। यसको निर्माण जापानको कावासाकी हेभी इन्डस्ट्रिजले गरेको थियाे। कर्णाली पुल बन्नु अघि सुदूरपश्चिमका बासिन्दा काठमाडौँ लगायतका देशका अन्य भूभागमा ओहोरदोहोर गर्न भारतको बाटो प्रयोग गर्ने गरेका थिए।

जीर्ण बन्दै गइरहेको अवस्थामा कर्णाली पुलमा आगलागीले पनि क्षति पुगाएपछि स्थानीय चिन्तित बनेका छन्।