☰ open Loading... 20 September 2024|  

वीरेन्द्रनगर बजारमा सार्वजनिक जग्गा खाली गराउन सकस
पश्चिम नेपाल   | २९ फाल्गुन २०८०, मंगलवार ०८:३८

वीरेन्द्रनगर बजार क्षेत्र अन्तर्गत गोदामलाइन, हङकङ बजार र हटिया लाइनमा विभिन्न १२५ पसल छन् । नगर विकास समितिको जमिन भाडामा लिएर साना व्यवसायीहरूले व्यापार गरिरहेका हुन् ।

सटर निर्माणदेखि पसल सञ्चालन गर्न उक्त ठाउँमा प्रत्येक व्यवसायीले लगानी गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–६, अन्तर्गत पर्ने यो ठाउँ बजारको प्रमुख क्षेत्र हो ।

नगर विकास समितिले गोदामलाइन, हटियालाइन र हङकङ बजारका साना फेन्सी व्यवसायीलाई हटाइ उक्त क्षेत्रमा पार्किङ, पार्क निर्माण लगायतका संरचना बनाउने तयारी गरेको छ ।

आफूहरूको ठुलो रकम लगानी भएको अवस्थामा नगरपालिकाले विकल्प नै नदिई संरचना हटाउन भनेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सुर्खेत उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गामा पहुँचको भरमा बनाइएका संरचना हटाउन अन्तिम पटक चेतावनीसहितको सूचना माघ १७ गते निकालेको थियो ।

३५ दिनभित्र संरचना हटाउन भन्दै जारी गरिएको सूचनामा भनिएको छ, ‘तोकिएको समयावधिभित्र पनि संरचना नभत्काई अटेर गरी बसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णयअनुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेहोर्ने गरी संरचना भत्काइ जग्गा खाली गराउन समिति बाध्य हुने ब्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

गोदामक्षेत्र, साल्ट ट्रेडिङ्गदेखि उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखि पूर्व, उत्तरतर्फ घण्टाघरदेखि दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिमतर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचना हटाउने समितिको योजना छ । तर समितिले तोकेको समयसीमा फागुन २३ मा सकिएको छ । विकल्प कहीँ नहुँदा साना व्यवसायी भने त्यहाँबाट अन्यत्र जानसक्ने अवस्थामा छैनन् ।
नगरपालिका (नगर विकास समिति) ले समयावधि सकिएको दिनदेखि संरचना हटाउन भन्दै उक्त क्षेत्रमा माइकिङ गरिरहेको छ । फागुन ३० गतेसम्म संरचनाहरु नभत्काएको खण्डमा नगरपालिकाले आफैँ बल प्रयोग गरी संरचना भत्काउने चेतावनी दिइरहेको छ ।

रातोपाटीबाट