☰ open Loading... 16 September 2024|  

वीरेन्द्रनगरमा अवैध संरचना नभत्काउन आन्दोलन
पश्चिम नेपाल   | २९ फाल्गुन २०८०, मंगलवार २०:२२

सुर्खेत नगर विकास समितिको जग्गामा वर्षैदेखि पहुँचको भरमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचनाको म्याद सकिएसँगै व्यवसायीहरूले नभत्काउन आन्दोलन गरिरहेका छन्।

नगर विकास समितिको जग्गामा व्यवसाय गर्दै आएका व्यवसायीहरूले मंगलबार वीरेन्द्रनगर नगरपालिकाको मूल गेटमा संरचना भत्काउने निर्णयको विरुद्धमा नाराबाजी गरेका हुन्।

पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने भन्दै अन्तिम पटकलाई सूचना निकालेको थियो।

३५ दिने सूचनाको म्याद सकिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले कोरोना महामारीले शिथिल परेको व्यवसायलाई मलजल गर्नुको साटो नगर विकास समिति (वीरेन्द्र नगर नगरपालिका) ले लखेट्न खोजेको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

उद्योग वाणिज्य संघको बस्तुगत समितिहरुका अध्यक्षहरू तथा प्रतिनिधिहरूले एक विज्ञप्ति जारी गर्दै व्यवसायको समस्याप्रति स्थानीय सरकारले गरेको निर्णय सच्चाउन अनुरोध समेत गरेका छन्।

समितिले ३५ दिनभित्र हटाउन अन्तिम पटकका लागि भनेर सूचना निकालेको थियो। सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा वर्षैदेखि अवैध भोग चलन गर्दै आएका थिए। नगर विकास समितिसँग सस्तोमा भाँडा लिएर केही व्यवसायीहरूले संरचना बनाएर लाखौं रकम भाँडा असुल्दै आएका छन्। नगर विकास समितिले आफ्नो जग्गा प्राप्तिको लागि कडा देखिएपछि व्यवसायीहरू फेरी पावरको खेलमा लागेका छन्।

तोकिएको समयावधि भित्र पनि संरचना नभत्काई अटेर गरि बसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णयअनुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट व्यहोर्ने गरि संरचना भत्काई जग्गा खाली गराउन समिति बाध्य हुने व्यहोराको सूचना यसअघि नै नगर विकास समितिले प्रकाशित गरिएको छ।

सुर्खेत नगर विकास समितिको यसअघि पुस १८ गते बसेको बैठकको निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिका– ६ र ८ वडास्थित गोदामक्षेत्र, साल्ट ट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तर तर्फ घण्टाघर देखी दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखी पश्चिमतर्फका स्थानहरूमा रहेका सबै अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरू हटाउने सूचना जारी गरेको थियो।

नागरिकन्यूजबाट