☰ open Loading... 7 September 2024|  

भेरी अस्पतालमा औषधि किन्न पनि लाइन !
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार १८:३०

शुक्रबार भेरी अस्पतालको फार्मेसीमा सुकमाया बुढा औषधि किन्न पुगिन्। तर, औषधि किन्नेहरुको भीड देखेर उनी सिधै अस्पतालभन्दा बाहिर सञ्चालन भएको मेडिकलबाट औषधि किनिन्। उनले भनिन्, ‘अस्पतालको फार्मेसीमा भिडभाड थियो। त्यसैले बाहिर आएर औषधि किनेँ।’

उनलाई यो थाहा भएन की, ‘फार्मेसीमा औषधि सस्तो पाइन्छ र बाहिर महँगो हुन्छ।’ औषधि किन्न पनि लाइन बस्नु पर्ने झन्झटले उनी निजी औषधि पसलबाट औषधि किन्न बाध्य थिइन्। उनी एक उदाहरण हुन्।

भेरी अस्पतालभित्रै सञ्चालन भएको फार्मेसीमा फार्मेसी सहायक (औषधि वितरण गर्ने) को जनशक्ति अभाव हुँदा यहाँ आउने बिरामीले सहजै औषधि पाउन सकिरहेका छैनन्। यस फार्मेसीमा दैनिक ६ देखि नौ सयसम्म बिरामी औषधि किन्न आउँछन्।

‘अस्पतालमा औषधि किन्न पनि यति धेरै लाइन बस्नु पर्ने बाध्यता छ,’ औषधि किन्न आएका जयराम खत्रीले भने, ‘बिरामीलाई सहज र सरल ढंगबाट उपचार पद्धति हुनु पर्ने हो तर, भेरीमा त्यस्तो हुन सकेको छैन। जहाँ पनि लाइन बस्नु पर्ने अवस्थाले यहाँ आउने बिरामी दोस्रो पटक दोहोरिएर आउन मन हुँदैन।’

यति धेरै बिरामी आउने भेरी अस्पतालको फार्मेसीमा जम्मा १३ जना मात्र जनशक्ति छ। ११ जना फार्मेसी सहायक र दुई जना कार्यालय सहयोगी। उनीहरु दैनिक तीन सिफ्टमा काम गर्छन्। जनशक्ति अभाव हुँदा बिरामीलाई औषधि दिसमन स्या भइरहेको फार्मेसी इन्चार्ज पदम अर्यालले बताए।

‘अस्पताल फार्मेसीको निर्देशिका अनुसार जनशक्ति राख्नु पर्ने अवस्था छ,’ उनले भने, ‘उक्त निर्देशिकाअनुसार हामीले १२ जना मात्र जनशक्ति राख्न पाउँछौं।’

अस्पतालभित्रको फार्मेसीमा सहजै औषधि नपाइँदाको फाइदा निजी औषधि विक्रेताले लिइरहेका छन्। अस्पतालभित्रको फार्मेसीले खरिद मूल्यको २० प्रतिशत फाइदा लिएर औषधि बिक्री गर्ने गरेको छ। अस्पताल बाहिरका औषधि पसलले भने यसभन्दा बढी मूल्यमा बिक्री गर्दा बाहिरको औषधि महँगो पर्ने उनको भनाइ छ।