☰ open Loading... 16 September 2024|  

सुनको मूल्यमा नयाँ कीर्तिमान
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार १३:५२

यो साता सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासकै सबैभन्दा धेरै मूल्य कायम भएर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो साता सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर रोकिएको छ ।

अहिलेसम्म नेपाली बजारमा सुनको कारोबार यति धेरै मूल्यमा भएको थिएन । यस्तै, सातामा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँसम्म पुग्यो । यसबाहेक समग्रमा भने गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । यो समग्रमा ४०० रुपैयाँको वृद्धि हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम छ ।

यो साता नेपाली बजारमा आइतबार तोलामा १ हजारले बढेर १ लाख २६ हजार पुगेको थियो । यही मूल्यमा लगातार सोमबार र मंगलबार सुनको कारोबार भयो । बुधबार तोलामा १ हजारले घटेको सुनको मूल्य बिहीबार ८०० रुपैयाँले बढेर शुक्रबार ४०० रुपैयाँले घट्यो ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो साताको शुक्रबार बढेर १५ सय १५ रुपैयाँ कायम भएको हो ।