☰ open Loading... 25 November 2024|  

सुर्खेतमा थपियो तीन तारे होटेल
पश्चिम नेपाल   | ७ चैत्र २०८०, बुधबार २०:४१

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ। दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो।

सञ्चालक तर्कबहादुर शाहीले प्रदेश राजधानीमा सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरेर एकान्त ठाउँमा तीन तारे स्तरको होटेल सञ्चालनमा ल्याइएको बताए। एकान्त र सुविधा सम्पन्न होटेल भएकाले सबैको रोजाइमा पर्ने उनले बताए। होटेल वीरेन्द्रनगर बजारदेखि १४ किलोमिटर दुरीमा उत्तरतर्फ पर्छ।

उनले नयाँ वर्षको अवसर पारेर होटेलको औपचारिक उद्घाटन गर्ने लक्ष्य राखिएको बताए। ‘समग्र कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने र कर्णालीमा आउने पाहुनाहरूलाई राम्रो आथित्यता दिने उद्देश्यले प्रदेश राजधानी वीरेन्द्रनगरको उपत्यकाभन्दा केही टाढा यो होटेल स्थापना गरेका हौँ,’ उनले भने, ‘होटेलबाट सुर्खेत उपत्यकाको अवलोकन गर्न मिल्ने, एकान्तका आवासीय कार्यक्रम गर्न मिल्ने र पहाडी जिल्लाका पर्यटकीय क्षेत्रहरूमा जाने मूल सडक भएकाले पनि सबैको रोजाइमा पर्ने अपेक्षा गरेका छौँ।’

कर्णाली घुम्न आउने पाहुनाका लागि स्तरीय बसोबासलाई मध्यनजर गर्दै नयाँ शाखा विस्तार पनि गरेकाे होटेल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका शाहीले जानकारी दिए।

एक बिगाह क्षेत्रफलमा फैलिएको होटेल ३४ कोठाकाे छ जसमध्ये दुई वटा भिआइपी स्वीट रुम, २० सुपर डिलक्स, ६ डिलक्स र ६ वटा स्ट्याण्डर्ड कोठाहरू रहेको होटेलका महाप्रबन्धक पदम सुवेदीले बताए।

यस्तै सनसेट रेस्टुरेन्टमा कर्णालीको अर्ग्यानिक मार्सी चामलको भात, जुम्लाको सिमीको दाल, सिस्नु, फापरको रोटी, कोदाको ढिँडो, कालिजको मासु, बट्टाईको झोल, लोकल कुखुराको मासु, मोहीलगायतका स्थानीय परिकारहरू उपलब्ध हुनेछन्। यसका साथै प्रत्येक साँझ साङ्गीतिक साँझसमेत राखिने उनले बताए।

सञ्चालक शाहीसँग होटेल व्यवसायको लामो अनुभव छ। उनले वीरेन्द्रनगरमा होटेल भ्याली भ्यु सञ्चालन गर्दै आएका छन् भने जुम्ला सदरमुकाम खलंगामा पनि उनको होटेल व्यवसाय छ। उनले कर्णालीका १० वटै जिल्लामा भ्याली भ्युका नामबाट होटेल व्यवसाय सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सुनाए।

‘अहिलेसम्म तीन वटा होटेल सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, अब कर्णालीका बाँकी रहेका आठवटै जिल्लामा भ्यालीज्यूको शाखा विस्तार गर्ने तयारीमा लागेका छौँ।’

शाहीले होटेल व्यवसायमा तीन दशकको अवधिमा झन्डै ३५ करोड लगानी गरिसकेका छन्। तीन वटा होटेल र रेस्टुरेन्टमा गरेर झन्डै एक सय २० बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। तत्कालै कर्णालीको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालमा पनि होटेल विस्तार गर्ने तयारीमा उनी छन्।

‘कर्णाली प्रदेशको होटेल व्यवसायमा संलग्न रहेको लामो अनुभवलाई आत्मसात् गर्दै पर्यटनमा टेवा पुर्‍याउन आफ्नो तन, मन र कर्म यसैमा खर्च गरेको छु,’ शाहीले भने, ‘विगतमा हामीलाई जसरी माया, साथ, सहयोग गरेर भ्यालीभ्यू ब्राण्ड बनाइ दिनुभएको छ, अब त्यो ब्रान्ड सबै जिल्लाहरूमा पुर्‍याउँछौं।’