☰ open Loading... 18 October 2024|  

रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
पश्चिम नेपाल   | १८ चैत्र २०८०, आईतवार ०८:४२

गत फागुन २२ गतेदेखि नेपालगन्जको रुपेडिया नाकामा थन्किएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ मेसिनको सामान बल्ल नाकाबाट छुट्न सुरु भएको छ । अर्थ मन्त्रालयले आवश्यक निर्णय गरेसँगै सामानहरू छुट्न सुरु भएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बिहीबार साँझदेखि सामान छुट्न सुरु भएको रातोपाटीलाई बताए । ‘सबै प्रक्रिया पुरा गरेर बल्ल सामानहरू छुट्न सुरु भयो,’ उनले भने, ‘अब सामानहरू कन्टिन्यू सप्लाई हुन्छ ।’

उनका अनुसार ‘ड्रिलिङ’ मेसिनका सामानहरू बोकेका तीन वटा ट्रकहरू शुक्रबार बिहान ९ बजेतिर सुर्खेत पुगिसकेका छन् । नाम सच्याउने नाममा लामो समय लगाएको अर्थ मन्त्रालयले सानो सामानहरूको मात्रै भन्सार छुटको निर्णय गरेपछि पुनः सच्याउनु परेको थियो । अनेक बहानामा अर्थले ढिलाइ गर्दा अन्वेषणको काममा समेत ढिलाइ भएको छ । अहिले दुवै थरीको सामानको निर्णय गरेसँगै सामानहरू भित्रिन सुरु गरेको हो । ‘म आफैँ सबै निर्णयको चिठी पत्र बोकेर नेपालगन्ज गएको थिएँ,’ नापितले भने, ‘अब नियमित सामानहरू छुट्न सुरु हुन्छ ।’

एक महिना लगाएर भारतको कोलकाता बन्दरगाह हुँदै सामान रुपेडिया आइपुग्दा समेत अर्थ मन्त्रालयले निर्णय नगर्दा ढिलाइ भएको थियो । नापितका अनुसार अहिलेसम्म नाकामा ७० वटा ट्रक आइसकेका छन् । चीनबाट कोलकाता बन्दरगाह आउन ट्रकलाई एक महिनाको समय लागेको थियो ।

‘ड्रिलिङ’ का लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चिनियाँ प्राविधिकको टोलीले क्याम्प निर्माण गर्नुका साथै मेसिन ल्याएर राख्ने ठाउँ सम्म्याउने, बाटो निर्माण लगायतका काम गरिरहेको छ । पूर्वाधार तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब मेसिनरी काम मात्रै बाँकी छ ।

मेसिनको सामान दैलेख पुगेसँगै ‘ड्रिलिङ’ को काम पनि धमाधम सुरु हुनेछ । अब मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिने योजना छ । त्यसपछि ‘ड्रिलिङ’ पश्चात् मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।

रातोपाटीबाट