☰ open Loading... 18 October 2024|  

राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी गर्दै मुद्दा दायर
पश्चिम नेपाल   | १८ चैत्र २०८०, आईतवार १८:४८

कोटिभिटी नेपालविरुद्ध राजस्व छलीमा राजस्व अनुसन्धान विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यो कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो ।
अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ । आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सो बाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ ।
यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोहीकारण साजयसहित बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको भएको विभागको भनाइ छ ।