☰ open Loading... 18 October 2024|  

मेडिकल व्यवसायी पण्डितसहित ६ विरुद्ध मुद्दा
पश्चिम नेपाल   | १९ चैत्र २०८०, सोमबार ०८:४१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा आइतबार मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कोभिड महामारीमा कोशी प्रादेशिक अस्पतालका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) को उपकरण खरिद गरिएको थियो । त्यस क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेसलाई जिम्मा दिई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डन्डसिंह विक, खोप अधिकृत उदेश श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ । पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेसका बजार व्यवस्थापक मनोज आचार्यविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

काठमाडौंस्थित बसेरा होटल सञ्चालकसमेत रहेका पण्डित सरकारले खरिद गरेका विभिन्न प्रकारका महँगा मेडिकल सामग्रीमा संलग्नताका कारण विवादित व्यक्ति हुन् । अख्तियारले उनीहरूविरुद्ध २ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।