☰ open Loading... 17 May 2024|  

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु
पश्चिम नेपाल   | २१ चैत्र २०८०, बुधबार ०५:०५

 

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ ।

विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो । अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो । त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ । ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो । शनिबार साँझ उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम सुरु भएको छ ।

अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ । काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए ।