☰ open Loading... 30 April 2024|  

कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा गर्ने भन्दै हिँडेर उपचार गर्न गएकी २१ वर्षीय युवतीको मृत्यु
पश्चिम नेपाल   | २९ चैत्र २०८०, बिहीबार २२:२८

प्रदेश अस्पताल कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षे युवती रिजुका बलामीको मृत्यु भएको हाे ।

अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका हुन् ।

९ महिनाको बालिका बाहिर आफन्तलाई छोडेर बिहिवार बिहान रिजुका पाठेघरको सफा गर्न अस्पताल छिरेकी थिइन । रिजुकाको पाठेघरमा समस्या भएको भन्दै निजी अस्पतालमा चेकजाँच पश्चात् प्रदेश अस्पताल कालागाउँमा पु¥याइएको थियो । अस्पताल पुगेपछि बिहान पाठेघर सफा गर्न भन्दै डाक्टरले काम सुरु गरेको थिए ।

परिवारलाई भेटघाट गर्न नदिएरै एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयपछि मृत्यु भएको घोषणा गरेपछि अस्पताल र सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको मृतकका जेठाजु हर्क बलामीले आरोप लगाए । पीडित परिवारले लापरबाहीका कारण मृत्यु भएको बताउँदै लापरबाही गर्ने व्यक्ति र घटनाको पूर्णविवरण परिवारले पाउनुपर्ने माग रोखेका छन् ।

‘कसको लापरवाहीमा उनको मृत्यु भयो, उपचार पूर्व शारीरिक अवस्था चेकजाँच भयो वा भएन, परिवारलाई जानकारी नै नगराएर मृत्यु भएको खबर गर्ने विषय गम्भीर विषय भएको, यसको सत्यतथ्य छानबिन हुुन जुरुरी छ। ’ मृतकका जेठाजु बलामीले भने । अस्पताल प्रशासनले घटनाबारे कुनै कुरा सार्वजनिक गरेको छैन ।

सुर्खेतमा रहेका पीडितका आफन्त र नेताहरू अस्पताल प्रशासनसँग छलफलमा छन् । पीडित आफन्तहरू र अन्य सर्वसाधारणहरूले अस्पतालले प्रवाह गर्ने सेवा निकै ढिलो र लापरबाही हुने गरेको गुनासो समेत गरेका छन् । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले आफू कामको सिलसिलामा बाहिर भएकोले घटनाको बारेमा कुनै जानकारी नभएको बताए ।

 

-खबरदृष्टिबाट