☰ open Loading... 16 November 2024|  

३ सातामा सुन १२ हजार ३ सयले बढ्यो
पश्चिम नेपाल   | १ बैशाख २०८१, शनिबार १०:३०

पछिल्ला केही सातायता सुनको मूल्यले दैनिक नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर फेरी नयाँ कीर्तिमानी बनाएको छ ।

मूल्यमा नयाँ कीर्तिमानीसँगै शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य भने गहना व्यवसायीका लागि हो । गहना व्यवसायीले ज्याला र जर्तीको मूल्य जोडेर उपभोक्तालाई बिक्री गर्छन् ।

महासंघले तोकेको मूल्यमा ज्याला र जर्तीको नाममा १२ देखि १८ प्रतिशत जोडिन्छ । १५ प्रतिशतको हिसाबले सर्वसाधारणलाई प्रतितोला १ लाख ५९ हजार ८ सय ५० रुपैयाँ पर्न आउँछ । ‘सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । नयाँ रेकर्डसँगै उपभोक्ता मूल्य पनि बढ्दो क्रममा छ,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘तीन साताको तुलना गर्दा तोलामा १२ हजार ३ सय रुपैयाँ बढेको छ ।’

महासंघका अनुसार सुनको मूल्य चैत १२ मा प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेकामा चैत ३० सम्म आइपुग्दा मूल्य १२ हजार ३ सयले बढेर १ लाख ३९ हजार रुपैयाँ पुगेको छ । एक साता (चैत २५ देखि ३०) सम्मको तुलना गर्दा पनि मूल्य तोलामै ३ हजार ४ सय रुपैयाँ बढेको छ । चैत २५ मा प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा करोबार भएको सुन क्रमश: बढेर शुक्रबार १ लाख ३९ हजार रुपैयाँ पुगेको हो ।