☰ open Loading... 18 October 2024|  

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार ०९:३०

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ । तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो ।

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको थियो । प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सभामुख नन्दा गुरुङले उक्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य घोषणा भएको जानकारी गराइन् ।

यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् ।

साथै फागुन १५ गते कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ ।