☰ open Loading... 18 October 2024|  

पानी नपर्दा सुक्न थाल्यो चैते धान
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार १०:२०

लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ। चैते धान रोपेदेखि पानी नपर्दा खेतका धाँजा फाट्न थालेको छ।

बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउँछन्। अन्न भण्डारको रुपमा मानिने मोरङमा यसवर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।

गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिए पनि समयमै पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख सिंहले बताए। ‘जिल्लाको १७ वटा पालिकामध्ये सुन्दरहरैँचा, बेलबारी, पथरी सनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेको छन्’, उनले भने।

गत वर्ष मौसमले राम्रो साथ दिएका कारण मोरङमा प्रति हेक्टर पाँच दशमलव छ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

‘खोला एवं पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाँउमा लगानी पनि नउठ्ने भयो’ बेलबारी ११ की किसान मैनादेवी न्यौपानेले भनिन्।

यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकोले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भएपनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ।

यसका लागि स्थानीय सरकारले पहल गरिरहेको बेलबारी– ९ का वडाध्यक्ष शालिग्राम बस्नेत बताउँछन्।