☰ open Loading... 21 May 2024|  

चिनियाँ शहरमा किन भासियो जमिन ?
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार १४:१३

पूर्वाधार निर्माणमा फड्को मारेको चीनले अहिले त्यसको मूल्य चुकाउनुपरेको छ । पूर्वाधार निर्माणका क्रममा प्रयोग भएका अत्यधिक कंक्रिटका कारण हाल विभिन्न शहरमा जमिन भासिने समस्या देखिएको छ ।

औसतमा प्रतिवर्ष ३.३ मिलिमिटरका दरले जमिन भासिरहेको अनुसन्धानले देखाएको छ । कतिपय शहरमा प्रतिवर्ष ४५ मिलिमिटरका दरले जमिन भासिएको छ । यही क्रम रहिरहने हो भने सन् २१२० सम्म चीनका तटीय क्षेत्र समुन्द्र मुनि पुग्ने एक अध्ययनले दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।

जमिन भासिनुमा विभिन्न कारण भएपनि पहिलो कारण भने तीव्र शहरीकरणलाई मानिएको छ । ठूलाठुला भवन बनाउनका निम्ति जमिनमुनिको धेरै पानी निकालिएको र अत्यधिक भारका पूर्वाधार निर्माण भएका कारण हाल जमिन भासिने समस्या देखिएको अनुसन्धानहरुको निष्कर्ष छ ।

अमेरिकाको न्यूयोर्क शहरमा गरिएको एक अनुसन्धानले पनि गगनचुम्बी भवनमा प्रयोग भएका कंक्रिट, सीसा र स्टिलको भार औसतमा ७६२ मिलियन टन हुने देखाएको थियो । अत्यधिक भारका कारण अन्तत जमिन भासिने जोखिम रहेको त्यहाँको अध्ययनले पनि देखाएको थियो । यता चीनमा गरिएको अनुसन्धानले पनि उस्तै निष्कर्ष निकालेको छ । तीव्र रूपमा भएका शहरीकरणका कारण जमिन भासिने समस्या निम्तिएको चिनियाँ निष्कर्ष छ ।