☰ open Loading... 19 September 2024|  

सुर्खेत मालपोत कार्यलयको स्टोरमा आगलागी
पश्चिम नेपाल   | २२ बैशाख २०८१, शनिबार २१:१३


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७ स्थित जिल्ला प्रशासन कार्यालयको आडमै रहेको कार्यालयमा शनिवार दिउँसो आगलागी भएको हो ।
कार्यालयको स्टोर कोठामा एक्काशी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार आगलागी हुने वित्तिकै थाहा पाएपछि दमकलको सहायहताले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षती पुगेको छ ।
स्टोरमा रहेका दराज एक थान, एक मोटसाईकल, दुई ओटा जेनेरेटर, कुर्सी १० वटा, टेवुल एक, सिपिउ पुरानो ६ ओटा र एक दर्जन प्लास्टिक कुर्सी जलेको प्रवक्ता विश्वकर्माले बताए । आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा थप क्षती हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।
स्टाेर काेठामा राखिएकाे जेनेरेटर पड्कीएर आगो लागेकाे कार्यालय प्रमुख जनक हमालले जानकारी दिए । उनकाअनुसार २०७४ देखि नै विग्रिएकाे जेनेरेटर राखिएकाे र जेनेरेटरमा तेलसमेत रहेकाले गर्मीका कारण पड्केर आगो लागेकाे हाे ।
‘काम नलाग्ने सामग्रीमा क्षती पुग्याे, अन्य काेठामा लागेकाे भए सखापै हुनेरहेछ,’ हमालले भने, ‘अन्य लालपूर्जा र महत्वपूर्ण कागजात भएकाे ठाउँ तिर आगो सल्किन नपाउँदै नियन्त्रणमा लिएर ठूलाे नाेक्सानी हुनबाट जाेगाएका छाैं ।’