☰ open Loading... 20 September 2024|  

नेपालीको औसत आयु ७१.३ वर्ष
पश्चिम नेपाल   | २३ बैशाख २०८१, आईतवार १८:२५

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको हो।

यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशतबाट झरेर ०.९२ प्रतिशतमा सीमित भएको छ। तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ०.२५ प्रतिशत जनसङ्ख्या वृद्धिदर रहेको छ।

पछिल्लो जनगणना अनुसार नेपालमा एकल परिवार ६०.१ प्रतिशत र संयुक्त परिवार ३९.९ प्रतिशत रहेको छ। बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बागमतीमा ५४ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।