☰ open Loading... 20 September 2024|  

दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु
पश्चिम नेपाल   | २३ बैशाख २०८१, आईतवार १८:२९

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा. याङ्ग पिङ्गले चिन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तलन गरी शुभारम्भ गरेका हुन्।

२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्बेको एक समारोहबिच सुरु भएको छ। दुई हप्ताअघिदेखि सामानहरू चिन हुँदै भारतको कलकत्ताबाट आयोजनास्थल ७५ ट्रक सामानहरू आएसँगै अन्तिम अन्वेषणका लागि तीव्र गतिमा काम भइरहेको थियो। ड्रिलिङ भएको ४ देखि ५ महिनाभित्र सकिने जनाइएको छ।

जमिनदेखि ४ देखी ५ किलोमिटरसम्म जमिनमुनि ड्रिलिङ हुनेछ। पेट्रोलियम अन्वेषण परियोजनाको अन्तिम अन्वेषण हुँदा देशभर चासोका साथ हेरिएको छ। यो अन्वेषणपछि दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ। परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए।