☰ open Loading... 19 September 2024|  

गण्डकीलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट
पश्चिम नेपाल   | २४ बैशाख २०८१, सोमबार ११:३८

लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २-० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ ।

बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली तेस्रो हुँदै लिगमा छनोट भएको हो ।

कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ खेलबाट कर्णालीले १२ अंक जोड्दा मधेशले १० अंकमात्रै जोड्यो ।

गण्डकीविरुद्ध कर्णालीलाई जित दिलाउन कर्णालीकी वर्षा वलीले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाइन् ।

खेलको ३०औं मिनेटमा सबिनाले गोल गर्ने राम्रो मौका गुमाइन् । उक्त अवसर गुमाएको २ मिनेटभित्र नै कर्णालीका लागि वर्षाले दायाँतर्फबाट गरेको असिस्टमा सन्जिता बोम्जोनले दोस्रो गोल गरिन् ।

पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्दा कर्णाली पहिलो पटक महिला लिगमा छनोट भएको हो ।