☰ open Loading... 18 September 2024|  

बरामद गरिएका औषधि नष्ट
पश्चिम नेपाल   | २७ बैशाख २०८१, बिहीबार ०५:०४

हुम्ला । सदरमुकाम सिमकोट बजारमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरी बरामद गरिएका औषधि सिमकोट गाउँपालिकाले नष्ट गरेको छ ।

सदरमुकाम सिमकोटमा सञ्चालित औषधि पसलहरुले कालोबजारी गर्नुका साथै बिचौलिया हाबी भएको गुनासो आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा बरामत भएको उक्त औषधि वैशाख २४ गते नष्ट गरिएको हो ।

जसमध्य सिपि औषधि पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोले ४ सय ट्याब्लेट औषधि भेटिएको थियो । त्यस्तै हेल्थ अस नेपाल मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन ४ सय १०, फोलोफाजेपाइम ४ सय १० ट्याब्लेट बरामद गरिएको थियो ।

अनुगमनमा भेटिएका सबै औषधि शुक्रबार मुचुल्का उठाएर गाउँपालिकाले आफ्नो कार्यालय अगाडी नष्ट गरेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । जनप्रतिनिधि, जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको रोहवरमा जलाएर नष्ट गरिएको हो ।

ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिई सञ्चालनमा भेटिएका थिए । उक्त औषधि डाक्टर बाहेक अन्य स्वास्थ्यकर्मीले विक्री वितरण गर्न नमिल्ने भएपछि बरामत गरिएको थियो ।

उक्त पसलेहरुले औषधि पसल सञ्चालन गर्दा आफ्नो निश्चित तोकिएको भन्दा फरक वा करेट एरिया भन्दा बाहिरको औषधि विक्री गर्दै आएको भेटिएको थियो । अनुमति विना औषधि बिक्री गरिएको औषधि पसलेहरुलाई पहिलोपटक माफी दिएको र यसपछि पनि त्यस्तो भेटिएमा कार्वाही गरिने संयोजक भण्डारीको भनाई छ ।