☰ open Loading... 19 October 2024|  

पानीले तिर्खाएको नेपालगन्ज
पश्चिम नेपाल   | २८ बैशाख २०८१, शुक्रबार १३:०६

नल्कामा पानी आउन छाडेपछि नेपालगन्ज–१८ कारकाँदोस्थित बागेश्वरी डिजल सर्भिसका सञ्चालक दशु सिग्देलले दुई ट्यांकर पानी राप्ती नदीबाट ल्याएका छन्। धेरै पानी आवश्यक पर्ने र नल्कामा पानी आउन छाडेपछि राप्ती नदीबाट पानी ल्याउन उनी बाध्य भए।

आफ्नो नल्कामा पानी आउन छाडेको र पानीको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारले उचित कदम चाल्नुपर्ने भन्दै भीम केसीले सामाजिक सञ्जालमार्फत पीडा व्यक्त गरेका छन्। यति मात्र होइन, अत्यधिक गर्मी बढेपछि नेपालगन्जका नल्का (ट्युबलेट) हरूमा पानी आउन छाडेपछि खानेपानीको संकट देखिएको छ।

अधिकांश नल्कामा पानी असाध्यै कम आउने गरेको छ भने केही नल्का सुक्खा भएका छन्। जसले यहाँका बासिन्दालाई खानेपानीको समस्या जटिल बन्दै गएको छ। ‘नल्कामा पानी आउँदैन,’ स्थानीय केपी बन्जाडाले भने, ‘चलाउँदा सानो पानी आउँछ। हातमा साबुन लगाएर नल्का पेल्न थाल्दा पानी आउँदैन।’

पानी नआउँदा सरसफाइका काम प्रभावित भएको भन्दै उनी भन्छन्, ‘नेपालगन्जको यस्तो गर्मीमा दिनभरि पसिना आउँछ। साँझ सुत्दा ननुहाई सुत्नै सकिँदैन। नुहाउनलाई नल्कामा पानी हुँदैन।’

जमिनमुनिको पानीको सतह घट्दै जाँदा नेपालगन्जमा पानीको संकट हुँदै आएको छ। गर्मी बढेसँगै नेपालगन्जमा पानीको माग पनि उस्तै छ। ‘गर्मीमा पसिनाले शरीर भिजाउँछ,’ नेपालगन्जका वीरेन्द्र केसीले भने, ‘दिनभरि बजारको काम। साँझ आएर नुहाऊँभन्दा पानी हुँदैन।’ पानी नहुँदै दैनिक सरसफाइका काम प्रभावित भएको उनी बताउँछन्।

अत्यधिक गर्मीसँगै नेपालगन्जमा भूमिगत पानीको स्रोत सुक्दै गएको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जनाए। ‘नेपालगन्जमा बढ्दो सहरीकरणसँगै भूमिगत पानी सुक्दै गएको छ,’ उनले भने, ‘जमिनमुनि जति पानी सिञ्चित हुनुपर्ने हो सहरीकरणले गर्दा त्यति हुन सकेको छैन। जसले भूमिगत पानी घट्दै गएको छ।’

‘जमिनमा जुन किसिमले पानी जानुपर्ने हो, सहरीकरणले गर्दा जमिनमा पानी जान पाउँदैन,’ उनी भन्छन्, ‘अनि जमिनमा छिटो नै पानी सुक्खा हुन्छ।’

पहिला आकाशबाट पनि पानी धेरै आउँथ्यो। जमिनमा गजबले पानी सिञ्चित हुन्थ्यो भन्दै उनले भने, ‘अहिले त जलवायु परिवर्तनका कारण बर्खामा पनि पानी कम पर्छ।’ बर्खामा समेत भारी वर्षा नभई हल्का मात्र पानी पर्दा जमिनमा सञ्चित हुने पानी अपुग भएको उनको भनाइ छ। पछिल्ला दुई वर्षमा अझ बढी जलवायु परिवर्तनको प्रभाव देखिएको उनी बताउँछन्।

पानीको भूमिगत स्रोत सुक्दै गएको छ। भूमिगत पानी सुक्दै जाँदा यहाँका इनार तथा ट्युबलेटमा पानी आउन छाडेको छ। अहिले नेपालगन्जको सहरी क्षेत्रका करिब ४५ फिटसम्मका ट्युबलेटमा पानी नआउने समस्या देखिएको खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका सव–इन्जिनियर गोपाल शर्माले बताए।

‘सहरी क्षेत्रका अधिकांश नल्कामा पानी कम आउने र कतिपय सुक्खा रहने समस्या देखिएको छ,’ उनी भन्छन्, ‘गर्मी समयमा यो समस्या देखिँदै आएको छ।’

सडकहरू पक्की हुँदै जानु, घरवरिपरि माटाको भाग नराखी ढलान, पिसिसी गर्नुलगायतले पानीको स्रोत सुक्दै गएको उनको भनाइ छ। २०७८ को जनगणनाअनुसार नेपालगन्जको कुल जनसंख्या एक लाख ६४ हजार छ भने ३४ हजार ५६५ घरधुरी संख्या छ।