☰ open Loading... 7 September 2024|  

यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र
पश्चिम नेपाल   | ३० बैशाख २०८१, आईतवार १२:२१

हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्। जुम्लाको पातारासी गाउँपालिका ३ का चारजना युवा डोल्पाको साल्दाङ फोतगाउँको पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिकाका कार्यवाहक अध्यक्ष दत्तबहादुर बुढाले बताए।

उनका अनुसार पातारासी ३ मोहरीगाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन्। चारजनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी छन्। बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचलेको उनको भनाइ छ।

आफन्तहरुले तत्काल उद्धार गरेर अलपत्र परेकाहरुको ज्यान बचाउन माग गरेका छन्। कार्यावहक अध्यक्ष बुढाले भने, ‘आफन्तहरुले फोन गरेर अलपत्र परेकाहरुको उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए। त्यहीअनुसार प्रक्रिया अघि बढिरहेको छ।’

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अलपत्र नागरिकको उद्धार गर्नेबारेमा छलफल भइरहेको बताए। उनका अनुसार प्रदेश सरकार र गृह मन्त्रालयमा हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाइसकिएको छ। प्रदेश सरकारले हेलिकोप्टरको खर्च बेहोर्नेबित्तिकै उनीहरुको उद्धार हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ।

प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले अलपत्र अवस्थामा रहेका नागरिकको उद्धारका लागि कर्णाली प्रदेश सरकारसँग पहल भइरहेको बताए। उनले भने, ‘शनिबार परेकाले उद्धार प्रक्रिया अघि बढाउन सकिएन। आइतबार बिहानै उद्धारका लागि सरकारसँग पहल सुरु हुनेछ।

यसअघि मुगुम कार्मारोङ गाउँपालिकाका पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका ३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको थियो।

शनिबार यार्सा टिप्न गएकी पातारासी १ की विष्णुमाया ऐडीको डोल्पाको प्यारी गुफालेकमा अचानक खसेको ढुंगा टाउकोमा लागेर मृत्यु भएको स्थानीय टासीबहादुर ऐडीले बताए।