☰ open Loading... 16 September 2024|  

प्राइम बहुउद्देश्यीय सहकारी ठगी : डेढ अर्ब अपचलनमा ८ पक्राउ
पश्चिम नेपाल   | २ जेष्ठ २०८१, बुधबार १०:०२

पोखराको गैरपाटनस्थित प्राइम बहुउद्देयीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको छ ।

उक्त सहकारीको १ अर्ब १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ ५० पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीका आधारमा सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी गरी ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले पत्र पठाइ मंगलबार सहकारी ऐन, २०७४ बमोजिम अनुन्धान गरी दिन अनुरोध गरेको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहाकार इन्द्रप्रसाद बराल, पूर्वकोषध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनील थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

बचत कर्तालाई उजुरीका लागि आह्वान

कास्की प्रहरीले सहकारीका बचतकर्तालाई उजुरीका लागि मंगलबार नै सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो ।

यसैको आधारमा कास्की प्रहरीले प्रमाण खुल्ने कागजातसहित उजुरी दिन बचतकर्तालाई आह्वान गरेको हो । जेठको २० गतेभित्र उजुरी दिन प्रहरीले भनेको छ ।

सहकारी पदाधिकारी तथा सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको गुनासो गरेका थिए । सहकारीमा बचतकर्ताको कति रकम हिनामिना भएको हो भन्नेचाहिँ खुलिसकेको छैन ।