☰ open Loading... 7 September 2024|  

३ सय ३३ वटा व्यवसायमा अनुगमन
पश्चिम नेपाल   | २ जेष्ठ २०८१, बुधबार १५:४१

कर्णालीका ३ सय ३३ वटा ब्यवसायहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा ब्यवसायमा अनुगमन तथा निरिक्षण गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर प्रयोगशालामा जाँच्ने, उद्योग सञ्चालनका लागि सिफारिस गर्ने तथा अनुज्ञापत्र जारी गर्ने र नवीकरण गर्ने गर्दछ । पछिल्लो समय अखाद्य बस्तु, म्याद गुर्जेका खानेकरा विक्रि, व्यवसाय दर्ता नगरेर सञ्चालन गरेको पाईएको छ ।

कार्यालयमा गुनासा आएसंगै अनुगमनमा तिव्रता दिईएको कार्यालयका खाद्य निरिक्षक विवेक कुमार सुवेदीले बताए । ‘गुनासा आएपछि तत्काल अनुगमनका लागि पुग्ने गरेका छौ ।’ खाद्य निरिक्षक सुवेदीले भने, धेरै ठाउँमा अनुगमन गरी गुणस्तर जाँच गर्ने कामहरु भएका छन् । गुणस्तरमा नआएकाहरुलाई कार्वाही समेत अगाडी बढाएका छौं ।’ अनुगमनका साथै कार्यालयबाट उपभोक्ता सचेतना कार्यक्रम समेत भईरहेको जनाईएको छ ।

सुर्खेतबाट दैलेख, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला र रुकुमपश्चिम र जुम्लामा रहेको डिभिजन कार्यालयबाट जुम्लासहित कालिकोट, मुगु हेर्ने गरेको छ ।

अनुगमन गरिएको खाद्य ब्यवसायमा १ सय ५० वटा, दाना उद्योग ४ वटा, होटल, रेष्टुरेन्ट, खाजा घर मिठाई पसलमा ६९ वटा, खाद्य उद्योग ८२ वटा, संवेदनशील पदार्थ (पानी, दुध र तेल) २८ वटा रहेको छ । सन्तोषजनक नभएको ब्यवसायहरुलाई सचेत गराईएको कार्यालय प्रमुख क्षितिज श्रेष्ठले बताए । ५ सय ९९ नमुना परिक्षणमा ६९ वटा नमुना कैफियत देखिएको कार्यालय जनाएको छ ।

गुणस्तर नभएको, लेवल नभएको, म्याद गुर्जेको पानी, तेल र मसलामा बढी कैफियत देखिएको खाद्य निरिक्षक विवेक कुमार सुवेदीले बताए । केहीलाई कार्वाहीको लागि अगाडी बनाएपछि कतिलाई सचेत बनाईएको जनाईएको छ । १६ लाख ९ हजार ९ सय ४८ रुपैँया बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको कार्यालयले छ । जुम्लाबाट कार्यालयले तोकिएको क्षेत्रमा शतप्रतिशत काम गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख पंकज दाहालले बताए ।
क्याप्सन ः बजार अनुगमन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोली । तस्विर ः गोविन्द केसी÷नागरिक