☰ open Loading... 16 September 2024|  

११ वर्षदेखि प्रहरी कार्यालयमा ‘बन्दी’ बुद्ध
पश्चिम नेपाल   | १० जेष्ठ २०८१, बिहीबार १३:४१

२०७० जेठ १२ गते बुद्ध जयन्तीका अवसरमा बौद्धमार्गीहरु बुद्धको मूर्ति काँक्रेविहार जंगलमा राख्ने तयारी गर्दै थिए। देशभरबाट बौद्धमार्गीहरु सुर्खेतमा भेला भएका थिए। वीरेन्द्रनगरको लाटीकोइलीमा रहेको बौद्ध गुम्बाबाट पूजाआजासहित बौद्धमार्गीहरुले बुद्धको मूर्ति काँक्रेविहारमा पुर्‍याए।

नेपालको पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहारमा तत्कालीन जिल्ला वन कार्यालय सुर्खेतले बुद्धमूर्ति राख्न अनुमति दिएन। सो क्रममा बौद्धमार्गी र प्रहरीबीच झडप भयो। ३० भन्दा बढी घाइते भए। बौद्धमार्गीको आन्दोलनले पाँच दिन सुर्खेत ठप्प भयो।

अनुमतिविनै काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोजिएको भन्दै जिल्ला प्रशासन कार्यालयले बौद्धमार्गीबाट बौद्धमूर्ति खोस्यो। त्यसयता बुद्धको मूर्ति जिल्ला प्रहरी कार्यालय (हालको जिल्ला ट्राफिक प्रहरी कार्यालय) को हाताभित्र ‘बन्दी’ छ। बौद्धमार्गीहरु ११ वर्षदेखि हरेक बुद्ध जयन्तीमा प्रहरी कार्यालयमै पुगेर बुद्धमूर्ति पूजा गर्छन्।

बौद्धमार्गीहरु काँक्रेविहारमा बुद्धमूर्ति प्रतिस्थापन गर्ने प्रतिबद्धता नआउँदासम्म प्रहरी कार्यालयबाट बुद्धमूर्ति फिर्ता नलिने बताउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय सुरक्षाका कारण बुद्धमूर्तिलाई प्रहरी कार्यालयमा राख्नुपरेको बताउँछ।

प्रशासन कार्यालयले पटकपटक बुद्धमूर्ति फिर्ता लिन बौद्धमार्गीलाई आग्रह गरिसकेको छ तर बौद्धमार्गी भने काँक्रेविहारमा बुद्धमूर्ति प्रतिस्थापन नहुँदासम्म प्रहरी कार्यालयबाहिर बुद्धमूर्ति नल्याउने अडानमा छन्।

‘पूजाआजा गरेर बुद्धविहारबाट निकालिसकेको मूर्ति फेरि त्यही ठाउँमा लगेर राख्न मिल्दैन’, पेमा साङ्गे सोलिङ गुम्बा समिति सुर्खेतका अध्यक्ष नोर्बु गुरुङले भने, ‘जहाँ राख्ने भनेर हामीले मूर्ति निकालेका थियौं, त्यही ठाउँमा राख्ने वातावरण नबन्दासम्म प्रहरी कार्यालयबाहिर बुद्धमूर्ति ल्याउँदैनौं।’

बौद्धमार्गीहरु बुद्धको स्थानमै बुद्धमूर्ति राख्नुपर्ने माग गर्छन्। ‘टोपी टाउकोमा सुहाउँछ, बुद्ध विहारमै सुहाउँछ’, उनले भने, ‘त्योभन्दा बाहिर राख्ने कल्पना हामी गर्न सक्दैनौं।’ बुद्धको मूर्ति काँक्रेविहारमा राख्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको उनको भनाइ छ।

बुद्धमूर्तिलाई प्रहरी कार्यालयको एउटा रुखमा बाँधेर ठड्याइएको छ। ११ वर्षदेखि एक अपराधीलाई जसरी प्रहरी कार्यालयको संरक्षणमा राखिएको मूर्ति कहिले बाहिर ल्याइने हो टुंगो छैन।

‘हामी प्रहरीको हातामा राखिएको महापुरुषको त्यो मूर्ति काँक्रेविहारमा ल्याएर राखिदिने प्रतीक्षामा छौं’, उनले भने, ‘काँक्रेविहार नेपालको दोस्रो लुम्बिनीका रुपमा चिनिन्छ, यो पक्कै पनि बुद्धको स्थल हो। यहाँ त्यो मूर्ति राख्न सकियो भने बौद्ध धर्मावलम्बीलाई न्याय हुन्छ।’