☰ open Loading... 20 September 2024|  

३ करोडको जग्गा हडप्न १३ जनाको सेटिङ, वडाध्यक्षसमेत संलग्न
पश्चिम नेपाल   | १८ जेष्ठ २०८१, शुक्रबार १०:४८

मोरङको रङ्गेली नगरपालिका–४, आमतोलामा रहेको करिब ३ करोड रुपैयाँ पर्ने जग्गा र उद्योग एकलौटी बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका वडाध्यक्षलाई प्रहरीले अझै पक्राउ गरेको छैन । पीडित पक्षले अदालतमा दिएको निवेदनपछि पक्राउ पुर्जी जारी भए पनि रङ्गेली–४ का वडाध्यक्ष अभदेश मण्डल वडा कार्यालयमै निस्फिक्री काम गरिरहेका छन् ।

स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनकी जेठी श्रीमती कलावती देवी मण्डललाई बाइपास गरेर कान्छी श्रीमती कौशिलादेवी साहको नाममा ल्याउन रङ्गेली–४ का वडाअध्यक्ष मण्डलसहित १३ जना मिलेर किर्ते गरेको पाइएको थियो ।

वडाअध्यक्षको अवैध कामलाई साथ दिन रङ्गेली नगरपालिकाका उपप्रमुख झुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना रहेको कलावतीका छोरा विरेन्द्रकुमार साहले दाबी गरे ।

विराटनरमा बुधबार पत्रकार सम्मेलन गरी साहले आफ्नो बुबा रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्गमिटरको जग्गा कान्छी आमाको छोरा राजकिशोर साहले हडप्ने षड्यन्त्र गरेको दाबी गरे ।

सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो क्षेत्रको जग्गा प्रतिधुर १० लाखदेखि १२ लाख रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको उनले बताए । घर र उद्योगबाहेक जग्गाको भाउमात्रै करिब तीन करोड पर्ने उनको दाबी छ ।

रामप्रसाद साहको २०७९ वैशाख ८ मा मृत्यु भयो । उनका दुई जना श्रीमती छन् ।

रामप्रसाद साहको निधन भएपछि कान्छीतर्फका छोरा राजकिशोरले बाबुको १३ औँ दिनमा मृृत्य दर्ता बनाए । बाबुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ दिनमा एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले रङ्गेली ४ नं. वडा कार्यालयबाट २०७९ वैशाख २१ मा मृत्यु दर्ता बनाएको विरेन्द्रको दाबी छ ।

विरेन्द्रलाई २०६५ भदौ २६ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छीतर्फका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएको देखिन्छ ।