☰ open Loading... 20 September 2024|  

आज यी प्रदेशमा आंशिक बदली भई वर्षा
पश्चिम नेपाल   | १८ जेष्ठ २०८१, शुक्रबार १०:५२

मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक बदली रहने बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।