☰ open Loading... 25 February 2025|  

मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी
पश्चिम नेपाल   | २५ जेष्ठ २०८१, शुक्रबार १५:१६

पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो।

विसं २०६३ मा १० हजारको लगानीमा दुइटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ।

‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ,’ ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४/२५ लाख जति आम्दानी छ।’

उद्योगमा ६ जनाले रोजगारी पाएका छन्। लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन छन्।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालन सुरू गरेका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल भएका हुन्।

यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ,’ उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्‍याउने धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन।’

मौरीसहितको आधुनिक घारको बजार मुल्य दस हजार र घारको मात्र चार हजार तोकिएको उनले जानकारी दिए।

‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ,’ उनले भने।