☰ open Loading... 25 February 2025|  

जुम्लामा शिक्षकमाथि हातपात
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार ११:०७

जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्।

यही असार ६ गते जुम्लाको पातारासी गाउँपालिका-५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेका थिए।

मादक पदार्थ सेवन गर्दै हिँड्ने अमृतले गाउँपालिकाअन्तर्गतको शिक्षा युवा तथा खेलकुद शाखाभित्र प्रवेश गरेर शिक्षकमाथि हातपात गरेका थिए। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अभिराज उपाध्याय र विषयविज्ञ दुर्गा बुढा र भोजराज न्यौपानेलाई अभद्र व्यवहार गरी उनले ज्यान मार्ने धम्कीसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उक्त कोटामा दुईजनाको दरखास्त परेको थियो। पहिलो पेपर चेकजाँच भइसकेको र दोस्रो पेपरको परीक्षा हुँदै थियो, शाखाभित्र प्रवेश गरेर अमृतले एक्कासि यस्तो अभद्र व्यवहार गरेको बताउँछन् विषयविज्ञ भोजरान न्यौपाने।

न्यौपाने भन्छन्, ‘हामीलाई विभिन्न आरोप लगाइएको छ। घुस खाएर आफ्नो मान्छे ल्याउने प्रपञ्च रचिएको छ भनेर अर्का विषयज्ञ दुर्गा बुढाप्रति अपशब्द बोलियो। अश्लील शब्द बोलेर महिलालाई होच्याइयो।’