☰ open Loading... 22 September 2024|  

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ जना बेपत्ता
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार ०७:३५

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखलढुङ्गामा गरेर सात जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठुला नदीमा जल सतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ ।