☰ open Loading... 21 September 2024|  

कर्णालीका ५ राजमार्ग अवरुद्ध, ५ दिनदेखि हवाई सेवा पनि ठप्प
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १२:२२

शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ ।

प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका हुन् ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सड्क अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा आइतबार बिहानसम्म पनि जारी रहेका कारण राजमार्गहरू सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ ।

राजमार्गहरू अवरुद्ध भएपछि यात्रुहरू दुई दिनदेखि अलपत्र परेका छन् भने हवाई सेवा अवरुद्ध भएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू पनि अलपत्र परेका छन् ।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ ।

त्यस्तै राप्ती राजमार्गको चोरखोला, सिमखोलीमा पहिरो खसेको छ । भेरी कोरिडोर अन्तर्गत छिन्चु जाजरकोट सड्क अन्तर्गत गुर्भाकोट नगरपालिका ३ मा पहिरोले सड्क अवरुद्ध भएको छ ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजिगाड र त्रिपुरा सुन्दरी नगरपालिका-१ डोल्पाको छलगाडमा पानिको वहाव बढ्दा सड्क अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए ।

कर्णाली राजमार्ग २ दिनदेखि सड्क अवरुद्ध हुँदा झन्डै २०० बढी सवारी साधन दैलेखको आठबीस नगरपालिका राकममा रोकिएको प्रहरीले जनाएको छ ।

एसपी शर्माका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।