☰ open Loading... 21 September 2024|  

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १६:२५

शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ ।

विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाका अनुसार कालिकोट खण्ड अन्तर्गत गगने खोला र एस मोडमा पहिरो गएको छ । यी दुई ठाउँमा ढुङ्गाहरू खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भइरहेको हो ।

‘त्यहाँ दैलेखको राकम कर्णालीबाट मेसिन गए पनि पहिरो जाने क्रम जारी रहेकाले पन्छाउने काम सुरु भैसकेको छैन,’ उनले रातोपाटीसँग भने । शनिबार नै गएको राजमार्ग अन्तर्गत हुल्मको पहिरो सफा गर्ने क्रम जारी रहेको थापाले बताए । यस्तै शनिबार नै गएको तिलापुफाको काल्जे ठाउँको पहिरो बिहान मात्रै पन्छाएर सकिएको छ । यस्तै खाँडाचक्र नगरपालिका–६, को मल्छा भन्ने ठाउँ नजिकै भर्खरै पहिरो गई राजमार्ग अवरुद्ध भएको छ ।