☰ open Loading... 21 September 2024|  

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार २०:१८

हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सब-ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्यलाई पनि आयोगले प्रतिवादी बनाइएको छ ।

त्यसैगरी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैं आफ्नै फर्ममा बजेट विनियोजन गरेको आरोप पत्रमा उल्लेख छ । गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेका थिए । यस्तै, उनले आफ्नै श्रीमती सेतु रोकायालाई कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना सञ्चालन गरेको पाइएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।