☰ open Loading... 20 September 2024|  

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु
पश्चिम नेपाल   | २४ असार २०८१, सोमबार २०:१४

युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् ।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् ।

किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताए ।

किएभ सहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ । किएभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले सहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन् ।