☰ open Loading... 19 September 2024|  

पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार
पश्चिम नेपाल   | २६ असार २०८१, बुधबार १६:१२

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर  पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।

कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माका अनुसार पहिरोले स्थानीय ५१ वर्षीय मनबहादुर थापाको घर पहिरोले पुरिएको थियो। घरभन्दा करिब २० मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। शर्माका अनुसार ५० वर्षीय कमला थापाको सकुशल उद्धार गरिएको छ। मृतक भीम कमलाका छोरा हुन।

डुबानमा फसेका चार जनाको उद्धार

अविरल वर्षापछि पोखरा–२७ स्थित दिपाङतालमा पानीको सतह बढेपछि डुबानमा फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरी बल–२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ।

गुल्मी स्थायी घर भई सत्यराज ढकालको घरमा भाडामा बस्ने रामबहादुर अधिकारी, ५४, सिर्जना अधिकारी  ३९, आयुष अधिकारी ६ आयुष्का अधिकारी ४ को सकुशल उद्धार गरिएको हो।

स्थानीयको सूचनाका आधारमा बुधबार बिहान ८ बजे सशस्त्र प्रहरीको उद्धार टिम डुबान स्थलमा पुगेर उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए।