☰ open Loading... 20 September 2024|  

विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार २१:१२

गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्‌मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ।

बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो।

त्यसैगरी, विभिन्न प्रदेशमा घाइते भएका १०६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। घाइतेहरूमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।

यस अवधिमा बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका ४१ जना कोशी प्रदेशका र १२ जना गण्डकी प्रदेशका हुन्। बाढी र पहिरोका कारण ६ जना बेपत्ता भएका छन्, जसमा २ जना कोशी प्रदेशका, २ जना बागमती प्रदेशका, १ जना गण्डकी प्रदेशका र १ जना सुदूरपश्चिम प्रदेशका रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

विपद्का कारण १७६ घर डुबानमा परेका छन् भने १६१ घर, ६८ गोठ, ४१ पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ४७९ पशु चौपायाको मृत्यु भएको छ। यो अवधिमा ३,४६२ परिवार विस्थापित भएका छन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा बाढी र पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने र विभिन्न स्थानमा अवरोध भएका बाटोहरूको सफाइ गर्ने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ।