☰ open Loading... 20 September 2024|  

पहिरोमा एकै परिवारका ७ जना
पश्चिम नेपाल   | २९ असार २०८१, शनिबार ०६:५४

दिनभरि बिहेमा बाजा बजाएर बिहीबार राति घर फर्किएपछि ४६ वर्षीय कुलबहादुर परियार माइती आएका छोरीज्वाइँसँग गफिँदै थिए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा ढुंगा र माटोको कच्ची घर पछाडि सानो पहिरो थुप्रिएको थियो । पानीको मूल पलाएको थियो । त्यही पहिरो सफा गर्ने ज्वाइँससुराको योजना पूरा हुन पाएन । राति १० बजे आएको पहिरोले कुलबहादुरसहित एकै परिवारका ७ जनालाई पुर्‍यो ।

उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्ष्मी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र प्रभाका श्रीमान् २५ वर्षीय अस्मित परियार घरभित्रै पुरिए । पहिरोको आवाज सुनेर बाहिर निस्किएकी उनको भन्दा तल्लो घरमा बस्ने भाउजू ५६ वर्षीया राधिका परियारको लडेर ज्यान गयो । कुलबहादुरका छोरा १७ वर्षीय पवन परियारको भने सकुशल उद्धार भयो । सामान्य घाइते भएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि शुक्रबार ‘डिस्चार्ज’ गरिएको छ ।