☰ open Loading... 19 September 2024|  

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | ३१ असार २०८१, सोमबार १५:२१

अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैनन्।

आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए।

पहिरो गएको थाहा पाउने वित्तिकै पहिरो पन्छाउनको लागि डोजर, स्काभेटरहरू परिचालन गरिसकिएको छ,ु डिएसपी केसीले भने,‘पानी परेन भने राजमार्ग दुईचार घण्टामै खुल्न सक्छ। पानी परेर पहिरो थपियो भने नखुल्न पनि सक्छ।

राजमार्गका विभिन्न खण्डमा पहिरो गएकोले यात्रा गर्दा सडकको बारेमा बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले सूचित गरेको छ।

सुर्खेत नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालिकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका छन्। लेदोसहितको पहिरो झरेकोले पन्छाउन कठिन भइरहेको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोट खण्डको गगनेखोला, एसमोड, बिर्तामोड, झाम्ला मोड, मोल्फालगायतका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गाहरू झरेर सडक अवरुद्ध भएको हो।

सडक खुलाउन डिभिजन सडक कार्यालयमा भएका सबै उपकरण र मानवीय शक्ति खटिएका छन्। यसअघि पनि सडकमा पहिरो खस्दा झण्डै चार दिन सवारीसाधन रोकिएका थिए। तत्काल सडक खुलाएर सवारी आवागमन सञ्चालनमा ल्याउन यात्रुहरूले माग गरेका छन्। साँघुरो सडकमा पहिरो आएर झनै साँघुरो हुने भएकोले जोखिम पनि निकै बढेको यात्रुहरूले बताएका छन्।