दैनिकजसो वर्षा हुन थालेपछि जाजरकोटको नलगाड नगरपालिका—४ का नन्दराम महरको ७ जनाको परिवार न राम्ररी सुत्न सकेका छ न अस्थायी टहरामा बस्न नै । ‘चर्किएको घरमा जाऊ भने भूकम्प आएर परिवारका सदस्यलाई एउटै चिहान बनाउने हो कि भन्ने चिन्ता, अस्थायी टहराले सामान्य पानी पनि छेक्दैन, एकैछिन पानी पर्यो कि खाद्यान्न र लत्ताकपडा भिजेर हैरान हुन्छ,’ उनले भने, ‘गाउॅ वरिपरिको भाग भूकम्पले चिरैचिरा पारेको छ, त्यसैले राति पानी परे पहिरोको जाने डरले सुत्नै सकिन्न, अहिले त राति ठूलो पानी पर्न थाले जाग्राम बस्नुपर्ने बाध्यता भयो ।’
बारेकोट गाउँपालिकास्थित जिरीका हर्कबहादुर विकको ५ जनाको परिवार पनि उही पीडामा छ । भूकम्पका कारण गाउॅको चारैतिरको जमिन फाटेको छ । जसका कारण उनी पनि एक सातायता राति पानी परेको दिन जाग्राम बस्छन् भने दिउँसो सुत्नुपर्ने बाध्यता छ । ‘पानी पर्यो कि चारैतिरबाट भल आएर टहराको सबै सामान भिजाउँछ,’ उनले भने, ‘राति पानी परे पहिरोले टहरो बगाउने हो कि भन्ने चिन्ता छ, त्यसैले जाग्राम बस्नुपर्ने बाध्यता भयो ।’ भत्किएका घरका पुराना टिन अस्थायी आवासको छानामा प्रयोग गरिएकाले पानी परे परिवारलाई ओताउनै मुस्किल हुने उनले गुनासो गरे ।
झन्डै साढे ३ महिना त्रिपालको कष्टकर बसाइपछि गत वर्ष फागुन दोस्रो साता अस्थायी टहरामा बसाइ सरको उनको परिवारले हिउँदमा कष्टकर चिसो व्यहोर्यो भने वैशाख-जेठमा अचाक्ली गर्मी । ‘अब फेरि झरीले दुःख दिन थाल्यो,’ उनकी श्रीमती पुष्पाले भनिन्, ‘स्थायी घर नबन्दासम्म सधैँ सास्ती हुने भयो, न राम्ररी खान पाइएको छ न सुत्न नै ।’ चर्को गर्मी र बर्खाका कारण बसोबास र खानपिनको राम्रो व्यवस्था नहुँदा ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उनले गुनासो गरिन् ।
जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते भूकम्प गएको थियो । जसबाट जाजरकोटमा मात्रै ४८ हजार ५ सय १७ लाभग्राही कायम भएका छन् । जसमध्ये ३४ हजार ९ सय ५४ अस्थायी आवास निर्माण भएका छन् । बाँकी परिवार त्रिपाल र पुरानै घरमा बस्न बाध्य छन् । अस्थायी आवास निर्माण गरेकाहरुका लागि असार सुरु भएपछि २४ हजार ५ सय ५७ परिवारको विवरण विपद् व्यवस्थापन पोर्टलमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनका अनुसार स्थानीय तहको खातामा दोस्रो किस्ताको रकम पठाएपछि वडा कार्यालयमार्फत वितरण भइरहेको छ ।
त्यस्तै रुकुम पश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ । उनीहरूलाई अस्थायी आवास निर्माणवापत दोस्रो किस्ताको २५ हजारका दरले ४० करोड रुपैयाॅ स्थानीय तहको खातामा पठाइएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार जिल्लाभरि ३२ हजार ६ जना लाभग्राही कायम भएका छन् । बाँकीलाई पनि रकम दिनेगरट्ठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप बजेट माग गरिएको उनले जानकारी दिए ।
बर्खा लागेपछि आफूहरूको बिचल्ली भएको भूकम्पपीडितको गुनासो छ । पानी परेको बेला भिजेका लत्ताकपडा र खाद्यान्न घाम लागेको बेला टहराबाहिर ल्याएर सुकाउनुपर्ने बाध्यता रहेको भेरी नगरपालिका—१ का लालबहादुर महरले बताए । उनका अनुसार गाउॅका केही परिवार जोखिम मोलेरै चर्किएको घरमा फर्किएका छन् । ‘टहराभरि पानी चुहिएको छ, यहाँ त बस्नै समस्या भयो,’ उनले भने, ‘चर्किएका घरमा पनि भित्ताहरु चर्किएकै ठाउॅमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने हो भन्ने चिन्तै चिन्तामा बस्नुपरेको छ ।’
नलगाड नगरपालिका—४ का हस्तबहादुर विकले टहरामा पानी चुहिएरै सुत्नै नसकिने अवस्था आएको बताए । ‘पुराना त्रिपाल टहराको छानामा टाँग्दा पनि पानीबाट ओतिन सकेनौँ,’ उनले भने, ‘टहरा वरिपरिको जमिन भूकम्पले चिरैचिरा पारेको छ, अझै २/३ दिन लगातार वर्षा भए कुन दिन पहिरोले टहरा बगाउने हो भन्ने चिन्ताले रातदिन सताउछ ।’ रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–१४ की कृष्णा विकले अस्थायी टहरोको टिनबाट पानी भित्र परेर कपडा र अन्नपात मुस्किल भएको बताइन् । वर्षापछि पशुचौपायाको पनि विचल्ली भएको उनको गुनासो छ ।
चर्को गर्मी र वर्षाका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेको छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले बताए । उनका अनुसार झाडापखाला, ज्वरो, टाइफाइड, निमोनियालगायत दैनिक ५० देखि १ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका रहेको उनले जानकारी दिए । जिल्ला अस्पतालमा पनि दैनिक १ सय ५० जनासम्मको उपचार हुने गरेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।
अहिले अधिकांश भूकम्पपीडितहरुले वनजंगलको छेउमा, खोलाकिनारमा, बारीको छेउमा र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेका छन् । जसका कारण बाढीपहिरोको ठूलो जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश महासचिव नरबहादुर नेपालीले बताए । ‘चिसो र गर्मीमा त स्वास्थ्य समस्यामात्र देखियो,’ उनले भने, ‘अब कति अस्थायी टहरा बाढीपहिरोले बगाउने हो भन्नै सकिन्न ।’
भूगर्भविद् चन्दन गिरीले भूकम्पले प्रभाव परेका ठाउॅमा नयाॅ पहिरोको जोखिम अत्यधिक रहेको बताए । उनका अनुसार अरु सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै ८० प्रतिशतले बढी हुन्छ । भूकम्पपछि उनी नेतृत्वको ५ जनाको टोलीले जाजरकोटको नलगाड, भेरी नगरपालिका र बारेकोट गाउँपालिकामा केही गाउँहरूमा अध्ययन गरेको थियो । जसमा विभिन्न बस्ती आसपासको जमिन फाटेको भेटिएको थियो । ‘बर्खा सुरु भइसकेको छ, ती फाटेका ठाउॅहरुमा भूक्षय र ठूलो पहिरोको जोखिम छ,’ उनले भने, ‘त्यसले पनि ठूलो जनधनको क्षति हुने जोखिम देखियो ।’
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले भूकम्पप्रभावित बस्तीहरुमा पहिरोको जोखिमबारे अध्ययन गरी पूर्वतयारी थालिएको दाबी गरे । उनका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
पहिरोको जोखिमले १६ परिवार विस्थापित
पहिरोको जोखिम बढेपछि भेरी नगरपालिका–१ मैदेस्थित च्याउपानीका १६ परिवार विस्थापित भएका छन् । वडा कार्यालयले ११ परिवारलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेको हो । ४ परिवार भारत र एक परिवार आफन्तको घरमा गएका छन् ।
‘भूकम्पका कारण घरमाथिको जमिन चर्किएर चिराचिरा परेको छ, पानी परेको पर्यै भएपछि अस्थायी आवासबाट उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो,’ भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले भने, ‘विस्थापितमध्ये ४ परिवार भारत गए, एक परिवार रुकुम पश्चिममा आफन्तको घरमा आश्रयका लागि गएका छन् ।’
जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विस्थापितको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको बताए । उनका अनुसार अन्य ठाउँमा पनि जोखिममा रहेका परिवारको खोजी भइरहेको र उनीहरूलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
ईकान्तिपुरबाट