कानुनले बालविवाह निरुत्साहित गरेको छ । तर प्रेम, भागी, अनौपचारिक विवाह भइरहेका छन् । विवाह नै नभइकन पनि गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या बढ्दो छ । यसलाई सामाजिक प्रश्नको रूपमा लिएर अध्ययन गरी कारण पत्ता लगाउनुपर्छ ।
किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ ।
यसबेला बाल्यकाल र वयस्कको बीचको समयमा हुने भएकाले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने, बुझ्न भन्न गाह्रो हुन्छ । किशोर–किशोरी समयमा यौन, यौनिकताको पनि विकास हुन्छ । कुन कुरा सही–गलत हो ? आफूमा आएको यौनको संवेग कसरी नियन्त्रण गर्ने ? भन्ने उनीहरूलाई चुनौती हुन्छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णालीमा २१ प्रतिशत र मधेश प्रदेशमा २० प्रतिशत यो उमेरका किशोरी गर्भवती हुने गरेका छन् ।
बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारी किशोरले १५ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर र किशोरीले यौनसम्पर्क गरिसक्ने सर्वेक्षणले देखाएको छ ।
बालविवाह र कलिलै उमेरमा गर्भवती हुने संख्या लक्ष्य अनुरूप घटाउन सकिएको छैन । विद्यालय अध्ययन गर्ने किशोर–किशोरीलाई मध्यनजर गर्दै सरकारले बृहत् यौनिकता शिक्षा लागू गरेको छ । तर पछिल्लो समय यस विषयलाई ऐच्छिक बनाउँदा यौन शिक्षा लिनबाट किशोरकिशोरी वञ्चित भएका छन् ।
विद्यालयका किशोर–किशोरी लक्षित यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरूको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन् स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न पनि त्यस्तो शिक्षाले सहयोग पुग्नेथियो ।
यस्तो शिक्षाले यौनिक जीवनलाई स्वस्थकर बनाउन, एचआईभी, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन सहयोग गर्छ । यस्तै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन पनि मद्दत गर्नेछ ।
बृहत् यौनिकता शिक्षा लागू भइरहँदा केही हदसम्म न्यूनीकरणको प्रयास गरेको थियो । तर यस विषयलाई ऐच्छिक बनाएपछि हाम्रो प्राथमिकता कता गयो भन्न सकिएन । प्रभावकारी शिक्षाको अभावमा धेरै असरहरू देखिन्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा बच्चा र आमाको मृत्युदर बढी हुन्छ । बच्चाहरू पनि समय नपुगेर कम तौलको जन्मिने, शारीरिक, मानसिक विकास हुने सम्भावना कम हुन्छ ।
किशोरी उमेरमा बिहे हुँदा उनको जीवन नै अस्तव्यस्त हुन्छ । अध्ययनलाई निरन्तरता दिन सक्दिनन् । बच्चा जन्माएर घरमै बस्नुपर्ने बाध्यताले श्रीमान् वा परिवारकै भरमा बाँच्नुपर्ने हुन्छ । अध्ययनले पनि यस्ता किशोरीमाथि श्रीमान्बाट यौन शोषण भइरहने र घरपरिवारबाट श्रम शोषण उच्च हुने देखाएको छ ।
हरेक विषयमा अरूमाथि निर्भर हुनुपर्ने भएपछि किशोरीले आफ्नो प्रजनन् स्वास्थ्य, सन्तान नजन्माउन वा बालबालिकाप्रति गरिने निर्णयका लागि स्वतन्त्र हुँदिनन् । जसका कारण सन्तानको जीवनमा पनि नकारात्मक असर पारिरहेको हुन्छ ।