☰ open Loading... 20 September 2024|  

काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार ०५:२१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज आयोजित ‘कर्णाली बृहत् वृक्षारोपण उत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको काँक्रेविहार जङ्गललाई हिंस्रकबाहेक अन्य वन्यजन्तुसँग मित्रवत् सम्बन्ध कायम हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

‘पूर्वाधार विकास निर्माण हुँदैछ, यहाँ ट्री–गार्ड र बाटोसँग जोडिएका रूखमा सोलारको व्यवस्था गर्न सकिएमा यसको सुन्दरता अझ बढ्ने छ । यसतर्फ पनि सोच्नुपर्ने आवश्यकता छ’ उनले भने ।

मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेर मात्र नपुग्ने भएकाले वृक्षको संरक्षण तथा सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिए । काँक्रेविहारका साथै बुलबुलेमा गरिँदै आएको वनभोजका गतिविधि आगामी दिनबाट व्यवस्थित गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बरालले वनजङ्गल जोगाउनु सबै क्षेत्रको सरोकार भएको धारणा राखे । उनले भने ‘पृथ्वी सबैको साझा घर हो, यसलाई जोगाउनु पनि हाम्रो साझा दायित्व हो । पृथ्वी जोगाउनमा वनको प्रधान भूमिका हुनाका साथै पर्यावरणीय सुन्दरता कायम राख्नसमेत ठूलो योगदान पुग्ने भएकाले यसलाई जोगाउन लाग्नुपर्छ ।’

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ तथा अभियन्ता डा नवराज केसीले भावी पुस्ताको सुख र खुसीका लागि वृक्षारोपण गर्न अपरिहार्य रहेको बताए । डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले विसं २०५९ वैशाख १ गते नेपालकै पहिलो संरक्षित वनका रूपमा घोषित काँक्रेविहारको पर्यावरण जोगाउने उद्देश्यले वृक्षारोपण गरिएको बताए ।