☰ open Loading... 20 September 2024|  

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना?
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार ०७:२६

मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले अघिल्लो २४ घन्टाका लागि चेतावनी जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।

अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले आग्रह गरेको छ।