☰ open Loading... 20 September 2024|  

एक वर्षमा १७ सय प्रहरी कारबाहीमा
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार १९:०७

पछिल्लो एक वर्षमा नेपाल प्रहरीमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित १ हजार ७०१ जना कारबाहीमा परेका छन् ।

प्रहरीको वार्षिक कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा एसएसपीदेखि प्रहरी जवानसम्म गरी १७ सय १ जना कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा प्रहरी जवान धेरै छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार यो अवधिमा ७६४ जना प्रहरी जवान, ३३८ प्रहरी सहायक हवल्दार, २८२ प्रहरी हवल्दार, ६७ वरिष्ठ हवल्दार र ११८ प्रहरी सहायक निरीक्षक कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा ४८ जना प्रहरी नायब निरीक्षक छन् भने १६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र २६ जना प्रहरी निरीक्षक छन् । ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन् भने कारबाहीमा पर्ने एसपी एक जना छन् ।

प्रहरी नियमावलीमा सामान्य र विशेष गरेर दुई किसिमको कारबाहीको व्यवस्था छ । सामान्य अनुसार शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, अधिकतम ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने लगायत छन् ।

विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र नठहरिने गरी बर्खास्त गर्नेसम्मको व्यवस्था छ ।