☰ open Loading... 20 September 2024|  

कर्णालीमा माओवादीका मन्त्रीहरूले सोमबार (आज)राजीनामा दिने
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार ०८:००

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्।

सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दिए।

दलका नेताबाट समर्थन फिर्ताका लागि आउनुपर्ने पत्र नआएकाले हालसम्म ढिलाई भएको उनले बताए।

औपचारिक रुपमा दलका नेताको पत्र पनि आएको छैन, मुख्यमन्त्री पनि केही समयअघि मात्र सुर्खेत आउनुभएको हुनाले हामीले राजीनामा दिन नसकेका हौं,’ उनले भने, ‘मुख्यमन्त्री आउँदा दलको नेताको पत्र आएको थिएन, अब आज (आइतबार) पत्र आउँदैछ, हामीले सोमबार समर्थन फिर्ता लिनेर राजीनामा दिने सँगै गर्छौं।’

उनका अनुसार काठमाडौंमा भएका संसदीय दलका नेता राजकुमार शर्माले आइतबार रातिसम्म इमेलमार्फत आधिकारिक पत्र पठाउँदैछन्।

यसअघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म कुरेको थियो। प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो। मुख्यमन्त्री यामलाल कँडेले शुक्रबार सुर्खेत आएका छन्।