☰ open Loading... 20 September 2024|  

लामाले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्दै
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार ०९:१२

बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार दाबी पेस गर्ने तयारी गरेको छ । कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले सोमबार सरकारमा दाबी पेस गर्ने भएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिइसकेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका थिए ।

जम्कट्टेलको राजीनामासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

अब नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन् । सोहीअनुसार नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।